सूर्यदर्शन सहकारी ठगी: प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
पाेखरा | पुस २१, २०८१
गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताउनुभयो ।
यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताउनुभयो ।
“प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ”, उहाँले भन्नुभयो । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

